ढाका, फागुन ५
एसियाली विकास बैंकले बंगलादेशलाई पुँजीबजार बलियो बनाउन १७ करोड अमेरिकी डलर सापटी दिएको छ । बंगलादेशी मिडियाहरुका अनुसार यो रकम तेस्रो पुँजीबजार विकास कार्यक्रममा खर्च हुनेछ । यो कार्यक्रम सन् २०१५ मा ल्याइएको थियो । एडीबीले दोस्रो कार्यक्रममा प्रभावकारी सुधारको लागि आधारभूत कुरामा जोड दिएको थियो । तेस्रो कार्यक्रमले भने नीतिगत र संस्थागत सुधारलाई लक्ष्य गरेको बताइएको छ ।
यसमा क्लियरिङ र सेटलमेन्ट सिस्टमलाई मुख्य जोड दिइएको छ । उक्त ऋण रकमले दुईवटा डिम्युचुअलाइज्ड स्टक एक्सचेन्जबाट नयाँ वित्तीय संयन्त्र ल्याएको छ । यसले वित्तीय रिपोटिङ र बीमा क्षेत्रलाई बलियो पार्ने उच्चस्तरीयता स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सन् २०१५ को नोभेम्बरमा एडीबीले सबै कार्यक्रमको लागि २५ करोड अमेरिकी डलर स्वीकृत गरेको थियो । जसअन्तर्गत सुरुको लागि ८ करोड छुट्याइएको थियो ।
योसँगै दक्षिण कोरियाली सरकारको इ–एसिया र नलेज पार्टनरशिप फन्डले पनि लाखौँ डलरको प्राविधिक सहयोग गरेको बताइएको छ । यसले पुँजीबजारमा सुधार ल्याएको बंगलादेशी मिडियाले जनाएका छन् । एडीबीको उक्त कार्यक्रमबाट दिगो पुँजीबजार विकास हुने अपेक्षा गरिएको एडीबीको वित्तीय क्षेत्र विशेषज्ञ ताकुया होशिनोले बताए ।