काठमाडौं, फागुन ६
ग्लोबल आईएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन संयुक्तरूपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ काअध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीलगायत देशका अन्य जिल्लाहरूमा ग्लोबल आईएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उनले बैंकको उपस्थितिले डोटीकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने रसम्पूर्ण देशवासीको मन जित्न सफल हुने बताउँदै बैंकलाई थप प्रतिस्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नसमेत आग्रह गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्रमा नै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गरिने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए । त्यस्तै डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले ग्लोबल आइएमई बैंकले गाउँघरमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे ।
बैंकले हाल दुुई सय ७० शाखा, दुुई सय ५६ एटीएम, ३७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुुई सय ४९ शाखारहित बैंकिङ सेवा र विदेशमा तीन प्रतिनिधि/सर्म्पक कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सर्म्पक कार्यालय स्थापना गरेरसेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारतलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरू किशोर आचार्य, राजन श्रेष्ठ, राजकुमार न्यौपाने, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेल, गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुवलाल श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाल, डोटी उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरू, जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरू, स्थानीय उद्योगी तथा व्यापारीहरू, जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि, स्थानीय व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।