काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार जेठ २४ गते अर्थात् आज मंगलबार अपराह्न ३ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८३ ‘छ’ (चार वर्षे) बिक्री गर्न लागिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति २०७९ जेठ २५ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुने अर्थात् सावाँ भुक्तानी हुने मिति २०८३ जेठ २५ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।
छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था रहेको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन व्यवस्था छ । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।
राष्ट्र बैकले चालू आर्थिक वर्षमा सरकारको लागि दुुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । सोहीअनुुरुप चालू आवको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका टे«जरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । यस अन्तर्गत दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा एक खर्ब ५० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने योजना राष्ट्र बैंकको रहेको छ ।
वालेटमार्फत हुने कारोबारको लागि प्रतिदिन कारोबार सीमा २५ हजार रुपैयाँसम्म : वालेटमार्फत हुने कारोबारको लागि प्रतिदिन कारोबार सीमा २५ हजार रुपैयाँसम्म तोकिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै अधिकतम कारोबार सीमा तोकिदिएको हो ।
सो अनुसार अबदेखि अनुमतिपत्र प्राप्त रेमिट्यान्स कम्पनी, उक्त कम्पनीका सबएजेन्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार नगद भुक्तानी, बैंक खाता, विद्युतीय वालेटलगायतका जुनसुकै माध्यमबाट गर्दा सम्बन्धित रेमिट्यान्स कम्पनीको प्रणाली अनिवार्यरुपमा प्रयोग गरी प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्मको कारोबार गर्न राष्ट्र बैंकले जानकारी दिएको छ ।