काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले वार्षिक साढे छ अर्ब रुपैयाँ पाउने गरी भएको घोटालाकाण्डमा अर्थमन्त्री जनार्दन शर्मा, उनका ज्वाइँ र सालो समेत संलग्न भएको भन्दै भ्रष्टाचार निवारणसम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार उजुरी दर्ता भएको छ । बीमा समितिले नीतिगत भ्रष्टाचार हुने गरी २०७९ वैशाख २८ र २०७९ जेठ ५ मा गरेको निर्णयले हिमालयन रि नामक निजी पुनर्बीमा कम्पनीलाई वार्षिक साढे तीन अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी गराइदिएका थिए ।
सोमबार आयोगमा दर्ता भएको उजुरीअनुसार अर्थमन्त्री जनार्दन शर्मा यस घोटाला काण्डमा पर्ने निश्चित देखिएको छ । बीमा समितिमा सञ्चालक नियुक्त भएका उनको आफ्नै सालो भएको दाबी उजुरीमा गरिएको छ । उनको आफ्नै ज्वाइँ हिमालयन रि इन्स्योरेन्समा कार्यरत रहेको व्यहोरा यसअघि आर्थिक दैनिकमा प्रकाशित आलोक प्रताप राणाको पत्रले पुष्टि गरिसकेको छ । नियामक निकायमा आफ्नो सालो राखेर ज्वाइँ म्यानेजर पदमा कार्यरत रहेको कम्पनीलाई वार्षिक अर्बौँ रुपैयाँ आम्दानी हुने गरी निर्णय गराएको विषयले अब गम्भीर निर्णायक मोड लिने निश्चित देखिएको छ ।
बीमा समितिले गत जेठ ५ मा जारी गरेको गैरकानुनी निर्देशनको सम्बन्धमा आयोगमा दर्ता भएको सी–०४४४४० को उजुरीमा बीमा समितिका अध्यक्षलाई मुख्य योजनाकार बनाइएको छ भने अर्थमन्त्री शर्मालाई केन्द्र्रविन्दुमा राखेर दुई जना नातेदारको विवरण समेत खुलाइएको आर्थिक दैनिकलाई प्राप्त कागजातमा उल्लेख छ ।
बीमा समितिले जेठ ५ गते एक निर्देशन जारी गर्दै नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमाशुल्कको कम्तीमा २० प्रतिशत बीमा शुल्क नेपाल पुनर्बीमा नामक कम्पनीले पाउँदै आएकोमा सोही मितिदेखि लागू हुने गरी हिमालयन रि र नेपाल रिले आधा आधा बाँडफाँट गर्र्न निर्देशन दिइएको थियो ।
बीमा समितिले जेठ ५ मा जारी गरेको निर्देशन नेपालको प्रचलित कानुनविपरीत, आव २०७५/०७६ को बजेट वक्तव्यको २०३ बुँदामा समावेश भई प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई कानुनसरह कार्यान्वयनमा रहेको विषयमा बीमा समिति सञ्चालक समितिले गरेको निर्णय र बीमा समितिले जारी गरेको निर्देशनहरु गैरकानुनी रहेको भन्दै सो घटनामा संलग्नहरुलाई तत्कालै निलम्बन गरी कारबाहीको माग उजुरीमा गरिएको छ ।
प्रतिनिधिसभाको लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिलाई समेत बोधार्थ बुझाइएको उजुरीमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना ज्वाइँ आलोक प्रताप राणा कार्यरत कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई आफ्नै सालो नाता पर्र्ने बीमा समितिका सञ्चालक सन्तोष रिजालमार्फत निर्णय गराई पाँच वर्षसम्म अर्बौँ रुपैयाँ आम्दानी ग्यारेन्टी गराएको दाबी गर्दै अर्थमन्त्री शर्मासहित उनका दुवै जना नातेदारलाई कारबाहीको भागिदार बनाउन माग गरिएको छ । बीमा समितिका अध्यक्षले प्रस्तावको रुपमा पेश गरेर घुस रकम सेटिङसहित सो निर्णय गराएको दाबी गर्दै बीमा समितिका अध्यक्ष र अर्थमन्त्री शर्मामाथि समेत छानबिन गर्न माग गरिएको छ ।
सो उजुरीमा साढे तीन अर्ब रुपैयाँ राज्यको लगानी रहेको कम्पनीको हिस्सा खोसेर निजी पुनर्बीमा कम्पनीलाई दिने निर्णयले नेपाल सरकारमाथि क्षति पु¥याउने कार्य गरेको, आर्थिक विधेयकका रुपमा आव २०७५/०७६ मा संसदबाट पारित भई कानुनसरह नेपाल पुनर्बीमा कम्पनीले कुल बीमा रकमको २० प्रतिशत प्रत्यक्ष हिस्सा २०७९ जेठ ४ गतेसम्म पाई कार्यान्वयनमा रहेकै अवस्थामा बीमा समितिले गरेको खोस्ने निर्णयले प्रतिनिधि सभा (संसद) को अवहेलना गरेको समेत आरोप लगाउँदै कारबाहीको माग गरिएको हो ।
उजुरीकर्ताले बीमा समितिका अध्यक्ष, बीमा समितिका कार्यकारी निर्देशक, बीमा समितिका सबै सञ्चालकहरु, सेटिङमा मुख्य भूमिका निर्वाह गर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छालाई समेत कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । साथै हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता गरेदेखि नै सेटिङ भएकोले बीमा समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुको सम्पत्ति समेत छानबिनको माग गरिएको छ ।