जनकपुरधाम, फागुन ७
प्रदेश नं. २ मा गत आर्थिक वर्षमा सञ्चालित विकास कार्यक्रमको बाँकी रहेको भुक्तानी दिने प्रक्रिया सूरु भएको छ । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले बाँकी भुक्तानी दिन प्रक्रिया थालेको बताए ।प्रदेश सरकारबाट मंसिर ११ गते भुक्तानीको लागि निकासा दिने आदेश अनुसार ७७ करोड २८ लाख ७० हजार ९३ रुपैयाँ थप रकमको सुनिश्चितता गरिएको बताए । आर्थिक वर्ष २०७५-०७६ मा प्रदेशमा भएको कामको गुणस्तरीयता सम्बन्धमा समिति गठन भई भुक्तानी गर्न माग गरिएको थियो ।
थप बजेटका लागि प्रदेश सरकारका चार वटा मन्त्रालयले थप बजेट माग गरेका थिए । तीमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयले ३२ करोड ८८ लाख ७४ हजार २ सय ५४ रुपैयाँ थप निकासा गर्न माग गरेको थियो । त्यस्तै सामाजिक विकास मन्त्रालयले २७ करोड ७३ लाख २० हजार ४ सय ११, उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालयले १५ करोड ७ लाख ७५ हजार ७ सय १३ र भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयले एक करोड ५८ लाख ९९ हजार ७ सय १५ रुपैयाँ थप निकास गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरेको मन्त्री यादवले जानकारी दिए । उक्त बजेट सुनिश्चितता गरेपछि अब गत आर्थिक वर्षमा भएको कामको मूल्यांकनपछि रोकिएको भुक्तानी उपभोक्ताले पाउने भएका छन् ।