काठमाडौं । मुलुकमा प्रायः गरी १३ जुनमा भित्रिने मनसुन यस वर्ष एक साताअघि अर्थात जेठ २२ गते नै भित्रिसकेको छ । यसरी विगतका १०/११ वर्षहरूको तुलनामा यस वर्ष भने समयअगावै मनसुनको आगमन भएको हो । यो मनसुन राष्ट्रको पश्चिमी भू–भागमा क्रमशः फैलिँदै गएपछि यसले मुलुकभर भारी वर्षा गराउनेछ । यही अवधिमा मुलुकमा सबैभन्दा मुख्य खाद्यान्न बाली धानको खेती गरिन्छ । तथापि, मनसुनको आगमन अगाडि हुँदै गर्दा कृषकको घरमा र बजारमा धान खेतीका लागि सरकार र यसका सम्बन्धित निकायहरूले आवश्यक रासायनिक मल उपलब्ध गराउन सकिरहेका छैन ।
यसलाई सरसर्ती अध्ययन गर्ने हो भने यो वर्षको वर्षा यसअघि हुनेगरेका वर्षाको तुलनामा एक सय ६० देखि एक सय ७० प्रतिशतसम्म हुनसक्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । यसर्थ विगत वर्षहरूमा जस्तै यस दक्षिण एसियामा यो वर्षाले प्राकृतिक विपत् र समस्या निम्त्याउन सक्नेछ । फलतः यो वर्षको भारी वर्षाले जनताका जीविकामा पनि ठूलो प्रभाव पार्ने देखिएको छ । यसका लागि उद्धार तथा राहतका नीति तथा कार्यक्रम सरकारले बनाउन चासो दिइरहेको छैन । यसमा पनि न त जनतामा हुनसक्ने सम्भावित जोखिम र प्रभावका लागि समयमै जनचेतनाको जागरण ल्याइएको छ । बरु सत्ता स्वार्थका लागि कोसँग के गर्ने र कोसँग के नगर्ने भन्दै जोडघटाउ र भागबन्डामा समय व्यतीत गरिइरहेको छ ।
यसर्थ मनसुन आफैँमा नेपाली अर्थतन्त्रमा प्रभाव पार्ने एक निर्धारक कारक वा तथ्य पनि हो । यसले देशको अर्थतन्त्रमा वृद्धि वा गिरावट ल्याउने गरेको छ । मनसुन समयमै आउँदा बालीनाली सप्रिने, खाद्यान्न उत्पादनमा वृद्धि हुने र यसले देशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गराउने गरेको छ । यसर्थ देशको बारेमा कुरा गर्ने हो यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने काम मनसुनले गर्नेगरेको छ । यसले जनताको जीविकासँग जोडिएको मनसुन यो वर्ष एक साताअघि आउँदा कृषि क्षेत्रमा ठूलो राहत पुग्ने अनुमान गरिएको छ ।
नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ । त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ । मनसुन समयमै आए बालीनाली सप्रिन्छ । खाद्यान्न उत्पादन बढ्छ । त्यसले देशको कुल गार्हस्थ उत्पादन बढाउँछ । यसले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिएको छ । पहिलो कुरा त समयमै किसानले मल पाउन नसके धानखेती हुनसक्ने देखिँदैन । समयमै धान खेती गर्न वा लगाउन नसके केही दिनपछि धान खेती गरिने इलाका बाढी तथा भारी वर्षाका कारण जल मग्न हुने देखिन्छ । मनसुनले बालीनालीको उत्पादकत्व मात्र बढाउँदैन, धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ । यसको साथसाथै रनअफ दि रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ । यसर्थ बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन् । यसबाट अर्थतन्त्र चलायमान हुन्छ । यसरी मनसुनले कृषि उत्पादकत्वमा वृद्धि ल्याउनुका साथै जलाशय भरीभराउ हुनेहुँदा विद्युत् उत्पादन र वितरणमा ठूलो सहयोग पु¥याउने गरेको छ । तर पनि यस वर्षको मनसुनमा अरु वर्षभन्दा बढी वर्षा हुने भएकाले यसले निम्त्याउन सक्ने प्राकृतिक विपत्का लागि उच्च सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ ।
मौसमविद्को भनाइअनुसार यस वर्ष पनि प्रदेश १ बाट प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, देशमा कायमै रहेको पश्चिमी वायुका कारण पश्चिमी क्षेत्रमा मनसुन फैलन केही दिन लाग्न सक्छ । यसको साथसाथै कृषिका लागि कम्तीमा ६५ प्रतिशत पानी वर्षाबाट प्राप्त हुन्छ । यसरी करिब चार महिनाको मनसुनी अवधिमा मात्र नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ । जुन वार्षिक वर्षाको ८० दशमलव ५ प्रतिशत हो । यस वर्ष मनसुनमा प्रदेश १ का उत्तरी, मधेशका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ । देशको सन्दर्भमा हेर्ने हो भने सन् १९६८ देखिको तथ्यांक हेर्दा मनसुन लम्बिने र हिउँद पछाडि धकेलिन थालेको छ ।
उदाहरणका लागि बर्खामा कास्की क्षेत्रमा धेरै वर्षा हुनेगर्छ भने मनाङ–मुस्ताङमा निकै कम पानी पर्छ । अपितु देशमा मनसुन आउनुपूर्व भारतमा बनेको प्रणाली दुई भागमा छुटिएर एउटा पाकिस्तानतर्फ र अर्को बंगालको खाडीतर्फ सरेको थियो । त्यो प्रणाली बंगालको खाडीमा पुगेर थप विस्तार नहुँदै नेपालमा आइपुगेकाले पनि मनसुनको आगमन यसपाली छिटो भएको हो । मनसुन बंगालको खाडीमा विस्तार भएपछि वर्षाको स्तर थप बढी हुनसक्ने अनुमान गरिएको छ । यसको अलवा मनसुन कस्तो हुन्छ भनेर महासागरमा विकसित हुने घटनाक्रम, त्यहाँको तापक्रममा भर पर्छ । त्यसबाहेक हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि असर गर्छ ।
समग्रमा भन्नुपर्दा मनसुन आगमनसँगै उच्च सतर्कता जरुरी पर्दछ । यस अर्थमा भन्ने हो भने अघिल्ला वर्षमा जुन १० मा मनसुन भित्रिने र २३ सेप्टेम्बरमा अन्त्य हुने आकलन जल तथा मौसम विज्ञान विभागले गर्दथ्यो । तर, पछिल्ला १० वर्षमा मनसुन आगमन र अन्त्यको तथ्यांक तथा ३० वर्षको मनसुनी वर्षाको विश्लेषण गरेर गत वर्षदेखि नयाँ प्रक्षेपण गरिएको हो । देशमा औसतमा १३ जुनमा भित्रिने र २ अक्टोबरमा अन्त्य हुने आंकलन गरिन्छ । विसं ०७६ मा औसतभन्दा १० दिन ढिलो असार ५ मा मात्र मनसुन भित्रिएको थियो भने १९ दिन ढिलो गरी असोज २५ मा बहिर्गमन भएको थियो । गत वर्ष भने औसतभन्दा दुई दिन ढिला मात्र मनसुन सुरु भएको थियो । यसरी मुलुकमा सबैभन्दा छोटो अवधिको मनसुन ०३६ मा ७३ दिन मात्र कायम भएको थियो ।
त्यसैगरी ०६५ मा भने सबैभन्दा लामो मनसुन कायम भएको थियो, एक सय ३० दिन । गत वर्ष २५ असोजमा मनसुन बाहिरिएको थियो । अतः विभागले अघिल्ला वर्षको तुलनामा यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ । यसमा विशेषगरी प्रदेश १ का तराईका भू–भाग, बागमती प्रदेशका उत्तर–पूर्वी भू–भाग, गण्डकी प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू–भागमा औसतभन्दा बढी वर्षाको सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको जनाइएको छ । यसले पूर्वी तराईमा बाढी र डुबानका साथै पहाडी भेगमा पहिरोको जोखिम बढाउनेछ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्वी भू–भाग, कर्णाली प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य–पश्चिमी भू–भाग र प्रदेश १ को मध्य भू–भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ । गण्डकी प्रदेशका उत्तरी भू–भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने प्रदेश १ का उत्तरी भू–भाग, बागमती प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।