मस्को । खाजाजन्य वस्तु उत्पादक म्याकडोनाल्ड्सले रूसबाट व्यवसाय झिकेपछि रूसले त्यसको विकल्प तयार गरेको छ । युक्रेनमाथिको आक्रमणको विरोधमा विश्वचर्चित कम्पनीले व्यवसाय झिकेपछि कम्पनीका रेष्टुराँलाई रूसले टेस्टी ब्रान्डमा रुपान्तरण गरेको बीबीसीले जनाएको छ ।
म्याकडोनाल्ड्सले आफ्ना आठ सयभन्दा बढी रेष्टुराँ रूसी व्यवसायी अलेक्जान्डर गोवरलाई बिक्री गरेको थियो । योसँगै आइतबार ती रेष्टुराँको रिब्रान्ड गरी खोलिएको हो । यसको नयाँ नाम ‘कुस्नो इ तोच्का’ अर्थात् टेस्टी एन्ड द्याट्स इट राखिएको छ । नयाँ मालिकहरुले पहिले र अहिलेमा धेरै फरक याद नगर्ने आशा गरेका छन् । उनीहरुले पुस्किन क्षेत्रमा नयाँ रेष्टुराँमै पत्रकार सम्मेलन गरे जहाँ धेरै पहिलो मस्को म्याकडोनाल्ड्स ३२ वर्षअघि खुलेको थियो ।
‘हाम्रो उद्देश्य यहाँ आउनले गुणस्तरमा कुनै भिन्नता नपाऊन् भन्ने नै हो’, कुस्नो इ तोच्काका प्रमुख कार्यकारी अधिकृत ओलेग पारोयेभले भने । उक्त आउटलेटमा एउटा नारा पनि झुण्डिएको छ, ‘नाम बदलिन्छ, माया रहिरहन्छ ।’ तर एक पुरुष विरोधकर्ताले उक्त समारोहको विरोध गर्दै ‘ब्रिङ ब्याक बिग म्याक’ नारा लगाएका थिए ।
नयाँ कम्पनीका अनुसार बर्गरको स्वरुपमा कुनै परिवर्तन हुनेछैन । किनभने त्यहाँ म्याकडोनाल्ड्सका सरसामग्री अझै रहेका छन् ।
सन् १९९० मा यहाँ धेरै लामो लाइन लागेको थियो । मानिसहरुले तीन घण्टा कुरेर बर्गर पाउँथे । त्यतिबेलाको उत्साह नै अर्कै थियो । म्याकडोनाल्ड्सको आगमनले त्यतिबेले सोभियतकालीन रूसले पश्चिमा विचार, संस्कृति र खानालाई स्वीकारेको प्रतीकका रुपमा लिइएको थियो ।