काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर यही असार एक गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।
आफ्ना प्रायोरिटी ग्राहकहरूको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं संयुक्तरूपमा गरेका हुन् ।
सो समारोहमा डिल्लीराम अधिकारीलगायत अन्य ग्राहकहरूले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईँले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । बैंकको देशका सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय र एक सय १८ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।