काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्नलागेको ‘नाडा अटो शो २०२२’ को लागि उल्लेख्य मात्रामा स्टल बुकिङ भएको आयोजकले जनाएको छ । स्टल बुकिङका लागि गत हप्ता रजिष्ट्रेसन खुल्ला गरिएको थियो ।
चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेसनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसकेको थियो । गत बिहीबार गरिएको गोला प्रथाअन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिसनका प्रतिनिधि तथा नाडा नाडा अटो शो समितिका पदाधिकारीहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको छ । विगतका संस्करणहरुभन्दा पृथक् यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुईपांग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।
कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यवसायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताइरहेको अटो व्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त छ ।
नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ । अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारीसाधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसँगको छलफल तथा अन्तर्क्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि सभापति बरालको भनाइ छ ।