अमेरिका, फागुन ७ जलवायु परिवर्तनसँग लड्न अनलाइन खुद्रा बिक्रेता अमेजनका संस्थापक जेफ बेजोसले १० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने घोषणा गरेका छन् । विश्वकै धनी बेजोसले सोमबार बेजोस अर्थ फन्ड (बेजोस पृथ्वीकोष) सञ्चालन गरी उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । ‘जलवायु परिवर्तन हाम्रो ग्रहको लागि सबैभन्दा ठूलो खतरा हो’, उनले इन्स्टाग्राममा पोष्ट गर्दै भनेका छन्, ‘यसको डरलाग्दो प्रभाव रोक्न म सबैसँग हातेमालो गर्न चाहन्छु ।’ बेजोस विश्वकै धनाढ्य हुन् । उनीसँग १ सय ३० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति रहेको ब्लुमबर्ग अर्बपति सूचकांकले देखाएको छ । उक्त रकम वैज्ञानिक, अधिकारकर्मी, गैरसरकारी संस्थालाई उपलब्ध गराएर पृथ्वीको संरक्षणमा खर्च गरिने बताइएको छ ।