काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूले पाँच वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिन्छ ।
यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट खोल्न सकिनेछ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरूलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।
बैंकले हाल एक सय १७ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमसिक अवधिमा ५१ करोड ५७ लाख २३ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६० करोड २५ लाख १२ हजार नौ सय २७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा ४९ अर्ब ७७ करोड १३ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५२ करोड ८८ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३७ करोड ५८ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा नौ करोड ९७ लाख ९० हजार नौ सय ८० रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ४९ अर्ब ५५ करोड ७५ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ९१ करोड ५३ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब एक करोड ८९ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६२ प्रतिशत रहेको थियो ।