काठमाडौं । कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेसानलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरूबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्नसक्ने सुविधा ल्याएको छ । विदेशमा रहेका स्वदेशी तथा विदेशीहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसाकार्ड तथा रेमिट्यान्स कम्पनीहरूमार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसाकार्डमा रकम सहजै पठाउन सक्नेछन् ।
विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसाकार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले व्यक्त गरे । फ्रिल्यान्सरहरूले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरूलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरूको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणालीमार्फत गरिएका प्रत्येक १५ हजार रुपैयाँभन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम पाँच सय रुपैयाँ प्रदान गर्र्नेे व्यवस्था गरिएको बैंकले जनाएको छ ।
आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४४ शाखारहित बैंकिङ एकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।