काठमाडौं । नेपालको खर्बपति उद्योगी विनोद चौधरी कार्यकारी अध्यक्ष रहेको सीजी ग्रुपअन्तर्गत रहेको सीजी वेल एण्ड डेरिभटिभ्स प्रालिले उत्पादन गरी बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेल बिक्री गर्ने गोदामहरुमा वाणिज्य विभागले छापा हानेको छ ।
आइतबार आर्थिक दैनिकमा चौधरी ग्रुपअन्तर्गतको सो सीजी वेल एण्ड डेरिभटिभ्सले उत्पादन गरी बिक्री गर्दै आएको तेलको प्याकेटमा मूल्य नहाली बिक्री गर्दै आएको प्रमाणसहित समाचार प्रकाशित भएपछि वाणिज्य विभागबाट खटेको टोलीले विभिन्न गोदामहरुमा छापा हानेको थियो ।
स्रोतका अनुसार वाणिज्य विभागले हानेको छापाको विषय गुपचुप राखिएको छ । विभागले छापा हानेपछि के भयो भन्ने नखुले पनि आर्थिक दैनिकलाई प्राप्त सूचनाअनुसार चौधरीले बिक्री गर्ने शेफ ब्राण्डको तेल गत फागुनमा समेत यसैगरी कालोबजारी गरेर बिक्री गरेको भन्ने गुनासोहरु विभागमा आएपछि अनुगमन तीव्र पारेको थियो ।
वाणिज्य विभागले त्यति बेला गरेको अनुगमनको समेत विवरणहरु सार्वजनिक नगरेको स्रोतले बतायो । विभागले गुनासो आएपछि अनुगमन गर्ने तर अनुगमन गरेपछि के भयो भनेर जानकारी नगराउने गरेको एक पीडितले बताए ।
उनका अनुसार विभागको यस्तो समस्या भने बढ्दै गएको छ । विभागको महानिर्देशकमा लिला प्रसाद शर्मा छन् । उनी महानिर्देशक भएर आएपछि बजारमा कालोबजारीको अनुगमन कम हुने गरेको र भए पनि भेटिनेहरुलाई सजिलै उन्मुक्ति दिने गरेको स्रोतले बतायो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ (ङ) बमोजिम उद्योगीले उत्पादन गरेको कुनै पनि वस्तु तथा सेवाको उत्पादन मिति, प्रयोग गर्ने समय, त्यसले स्वास्थ्यलाई पार्ने असर, त्यसमा गरिएको मिसावट तथा त्यस वस्तुको मूल्य प्रस्ट रुपमा खुलाउनुपर्नेछ । तर आर्थिक दैनिकलाई प्राप्त चौधरी ग्रुपले बिक्री गरेको सो शेफ ब्राण्डको सनफ्लावर तेलमा मूल्य नखुलाई बिक्री गरिएको पाइएको थियो ।