काठमाडौं । अध्यक्ष माधव कुमार नेपालको स्वार्थअनुसार सरकारमा सहभागी नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु हटाउने र थप्ने काम भएको छ । यसरी मन्त्रीहरु हटाउँदा समाजवादीमा चर्को विवाद भएको छ भने बाहिरिने मन्त्रीहरुले मन्त्रालयमा रुँदै पत्रकार सम्मेलन गरेका छन् ।
बजेट पास भएपछि राजीनामा दिन तयार रहेका मन्त्रीहरुलाई माधव नेपालले जबर्जस्ती हटाउन लगाएपछि मन्त्रीहरुले सामूहिक विद्रोहको प्रयास पनि गरेका थिए । त्यसमा भरपर्दो साथ नभएपछि मन्त्रीहरुले आइतबार राजीनामा दिएपछि मन्त्रिपरिषद्मा हेरफेर गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आइतबार हेरफेर गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेका छन् ।
माधव नेपालको हस्तक्षेपछि प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडाको मन्त्री पद खोसिएको छ । मन्त्री हेरफेरसँग समाजवादीमा तीव्र असन्तुष्टि देखिएको छ । यसले उक्त पार्टीलाई थप कमजोर पारेको छ । नयाँ मन्त्रीहरुले सोमबार शपथ लिने कार्यक्रम छ ।