काठमाडौं । इ–सेवा मनी ट्रान्सफर र युएई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स पठाउनसक्ने भएका छन् ।
उनीहरुले यूएईभर रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखाबाट इ–सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी)मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सकिने इ–सेवाले जनाएको छ । लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेकोे इ–सेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै युएई बाट पठाएको रेमिट्यान्स, नेपालका अधिकांश ठाउँमा रहेका इ–सेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी इ–सेवाका क्यास प्वाइन्टमार्फत पनि रकम झिक्न सकिनेछ ।
यसका साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इ–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरी हाल इ–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले यूएईस्थित नेपालीहरुले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इ–सेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाई दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेशनल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका थिए ।