काठमाडौं । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार रामेछाप जिल्लाको मन्थली नगरपालिका १ घर भई हाल भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका १ बस्ने ३२ वर्षीय रामचन्द्र थापामगरलाई पक्राउ गरिएको हो ।
आचार्यका अनुसार थापामगरविरुद्ध विभिन्न बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको मिति २०७६ माघ ११ गते ४८ लाख ९५ हजार पाँच सय जरिवाना र एक लाख १६ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो भने २०७८ कात्तिक २८ गते १० लाख रुपैयाँ जरिवाना, तीन दिनकै र ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो ।
यसैगरी विसं २०७७ कात्तिक आठ गते पनि थापामगरविरुद्ध चार लाख ७० हजार रुपैयाँ जरिवाना र तीन दिनकै र १८ हजार आठ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी भएका फैसलाहरूमा जम्मा ६३ लाख ६५ हजार पाँच सय रुपैयाँ जरिवाना, छ दिन कैद र दुई लाख ५४ हजार आठ सय रुपैयाँ क्षतिपूर्ति समेत नतिरी बेरुजु रहेको भन्ने जानकारी कार्यालमा आएको थियो ।
सोही जानकारीको आधारमा अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले प्रतिवादी थापामगरलाई आइतबार बेलुका १६ः४५ बजे काठमाडौंका तारकेश्वर नगरपालिका शेषमतीबाट पक्राउ गरेको हो । पक्राउ परेका थापामगरलाई सोमबार फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक आर्चायले दिएका छन् ।