काठमाडौँ । गत जेठ १२ गते प्रहरीले सात करोड बार्गेनिङ गरेको आरोप लगाउँदै विभिन्न क्षेत्रमा काम गर्ने सात जनालाई प्रक्राउ ग¥यो । पक्राउपछि प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा कोसँग के विषयमा बार्गेनिङ गरेको भनेर खुलाएन र आर्थिक दैनिकले सो विषयमा जिज्ञासा राख्दा समेत टेकु प्रहरी प्रवक्ता समेत रहेका दिनेश मैनालीले सो कुरा पछि पत्रकार सम्मेलन गरेर भन्ने र थाहा भए पत्रिकामा लेख्न चुनौती नै दिए ।
प्रहरीले यसरी बार्गेनिङ गरेको आरोप लगाएर सात जनालाई थुनिरहँदा कोसँग के बार्गेनिङ भयो भन्ने नखुलाउनु आफैँमा शंकास्पद देखिन्छ । पक्राउ परेका सात जनामध्ये केही पत्रकारहरु समेत रहेका थिए भने उनीहरुलाई अदालतले धरौटीमा रिहा समेत गरिसकेको छ ।
स्रोतका अनुसार यस घटनामा कमजोरी सात जनाको नभई सम्बन्धित पक्षकै थियो । ‘एक प्रतिष्ठित युवती र अर्का प्रतिष्ठित व्यापारीबीच भएको अश्लील क्रियाकलापलाई उनीहरुले भिडियो बनाएर राखेका थिए’, स्रोत भन्छ, ‘यसरी अश्लील भिडियो बनाउनु समेत गैह्रकानुनी हो र कानुनविपरीत कार्य गर्नेलाई कानुनी कारबाही हुनुपर्छ तर यहाँ एकपक्षीय कारबाही भएको छ ।’
स्रोतका अनुसार ती युवती र व्यापारीले बनाएको अश्लील क्रियाकलापको विषयमा पक्राउ परेका पत्रकारले जिज्ञासा राख्न फोन गरेका थिए । आफूहरुको कानुनविपरीतको अश्लील क्रियाकलापको भिडियोबारे पत्रकारले थाहा पाएपछि आतिएका उनीहरुले पत्रकारलाई एकपटक आफूहरुलाई भेट्न र आफ्ना कुराहरु राख्ने मौका दिन अनुनय गरेका थिए ।
व्यापारी र युवतीले आफ्ना कुरा राख्ने अवसर दिनुप¥यो भनेर अनुनयविनय गरेपछि उनीहरुलाई भेट्न गएकै समयमा प्रहरीसँग मिलेमतो गरी पैसाको बार्गेनिङ गरेको भनेर समाउने योजना बनाई उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
स्रोतका अनुसार पत्रकारहरुलाई पक्राउ गर्न नेपालकै उच्च तहका प्रतिष्ठित व्यापारीले प्रहरीलाई समेत प्रलोभनमा पारेका थिए र सोहीबमोजिम पत्रकारहरुलाई पक्राउ गरी कानुनविपरीत अश्लील भिडियो बनाउने ती मोडल युवती र प्रतिष्ठित व्यापारीलाई अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको छ भने पत्रकारले आफ्नो जिम्मेवारी पूरा गर्न फोन गर्दा बार्गेनिङ भन्दै समातेर २४ दिनसम्म अनुसन्धानको नाममा हिरासतमा राखिएको थियो ।
प्रहरीको व्यापारीसँगको मिलेमतोको यो एक उदाहरण मात्र हो । गत कोरोना कालमा कमलादीमा रहेको भारतीयमूलको नेपाली व्यापारीले चलाएको रेष्टुरेण्टमा वेश्यावृत्ति तथा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिहरु समेत आजसम्म सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार त्यहाँ पनि प्रतिष्ठित व्यापारीहरु नै सहभागी थिए ।
नेपालमा ठूला भनिने व्यक्तिहरुको प्रतिष्ठाको विषयमा उनीहरुले गल्ति गरेकै समाचारहरु आउँदा समेत उनीहरुको नाम गोप्य राख्न प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सामान्य नागरिकहरुको इज्जत र प्रतिष्ठामा प्रहरीले नै दाग लगाउँदै आएको यसले पुष्टि हुन्छ भने ठूला व्यापारीहरुलाई प्रहरीले कसरी लुकाउने रहेछ भन्ने समेत यस्ता घटनाहरुले देखाएको छ ।
यसरी प्रहरीले एकपक्षीय अनुसन्धानको लागि पक्राउ परेकाहरुमा उदयपुर त्रियुगाका २१ वर्षका सुजन आचार्य, कालीकोटका २९ वर्षका टेक विक, बझाङका २९ वर्षका धर्मराज थापा, काभ्रेपलाञ्चोकका ३३ वर्षका उमेश भण्डारी, गुल्मीकी २९ वर्षकी बसन्ता खनाल, नेपाल लाइफ इन्स्योरेन्सका मार्केटिङ शाखाका वरिष्ठ कर्मचारी चितवनका ३२ वर्षका सुरज शर्मा र काठमाडौं सिनामंगलका ३३ वर्ष श्रवण कार्की रहेका छन् ।