अमेरिका । अर्बपति इलोन मस्कको स्पेसएक्सलाई आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट सञ्जाल चलिरहेका साधनहरुमा प्रयोग गर्न संयुक्त राज्य अमेरिकाको सञ्चार आयोगले अनुमति दिएको छ ।
बिहीबार यो अनुमति दिएसँगै कम्पनीले आफ्नो ब्रोडब्यान्ड व्यावसायिक विमान र पानीजहाज तथा ट्रकहरुमा विस्तार गर्ने बाटो पनि खुल्ला भएको छ । स्टारलिंक पृथ्वीको कक्षमा घुम्ने इन्टरनेट बिमिङ स्याटेलाइट हो ।
ग्रामीण क्षेत्रलगायतमा यो इन्टरनेटको सजिलै प्रयोग गर्न सकिने भएकाले कम्पनीले आफ्ना ग्राहक बढाउन खोजिरहेको छ । त्यतिमात्रै नभई अटोमोटिभ, शिपिङ र हवाइ क्षेत्रमा यसको प्रयोग बढाउन कम्पनीले प्रयास गरिरहेको छ ।
स्पेसएक्सले यसको लागि गत वर्ष नै एफसीसीसँग अनुमति मागेको थियो । कक्षमा कम्पनीले २७ सयजति स्टारलिंक स्याटेलाइट पठाएको छ । सन् २०१९ यता पृथ्वीको तल्लो कक्षमा यी स्याटेलाइट पठाएको हो । यसका अहिले सयौँ हजार ग्राहक भइसकेका छन् । उनीहरुमध्ये धेरैले प्रतिमहिना ११० अमेरिकी डलर तिर्छन् । उनीहरुले ५९९ डलरको सेल्फ इन्स्टल टर्मिनल किट प्रयोग गर्छन् ।
अमेरिकी विमान कम्पनीहरुले इनफ्लाइट वाईफाईको लागि सम्झौता नै गरिरहेको बताइएको छ ।