काठमाडौँ । चालू आर्थिक वर्ष सकिने लाग्दा नेपाल राष्ट्र बैंक यस आर्थिक वर्षको लागि तोकिएको आन्तरिक उठाइसक्ने दबाबमा परेको छ । यो वर्ष राष्ट्र बैंकले सरकारको लागि दुई खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैंयाँ आन्तरिक ऋण जिम्मेवारी पाएको छ । सोहीअनुरुप चालू आर्थिक वर्षको समाप्तिको मिति नजिकिँदै गर्दा राष्ट्र बैंकको आन्तरिक ऋण उठाइसक्ने दबाबमा परेको हो । सोअनुसार राष्ट्र बैंकले एकै दिन विकास ऋणपत्र र ट्रेजरी बिल जारी गर्नलागेको छ ।
असार २१ गते मंगलबार राष्ट्र बैंकले छ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८५ ‘च’ (६ वर्षे) बिक्री गर्नलागेको जानकारी दिएको छ । ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपराह्न ३ बजेसम्म आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार जारी मिति यही २०७९ असार २२ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८५ असार २० तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्याइएको छ । राष्ट्र बैंकका अनुसार अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।
पुनः १८ अर्बको ट्रेजरी
नेपाल राष्ट्र बैंकले असार २१ गते अर्थात् सोमबार पुनः १८ अर्ब एक करोड छ लाख ५५ हजार रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रे«जरी बिल बिक्री गरिएको हो । यसअघि यही असार १३ गते पनि राष्ट्र बैंकले २६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसरी बिक्री गरिएको ट्रेजरी बिलमध्ये पुरानो नवीकरणअन्तर्गतको नौ अर्ब १० करोड र बाँकी आठ अर्ब ९१ करोड ९१ करोड ६५ लाख ५० हजार रुपैयाँ पुरानो नवीकरणअन्तर्गतको छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति असार २१ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको आठ अर्ब ९१ करोड छ लाख ५५ हजार रुपैयाँबराबरको छ । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ असोज १८ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०८० असार १९ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि गत साता अर्थात् असार १३ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।