काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थामाथि गर्ने निरीक्षण नै कमजोर देखिएको छ । राष्ट्र बैंकले आर्थिक २०७७/०७८ मा १४ वटा लघुवित्त वित्तीय संस्थाहरुको मात्र स्थलगत निरीक्षण गरेको छ । सोमबार लघुवित्त संस्था सुपरिवेक्षण विभाग, निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७७/०७८ सार्वजनिक गर्दै कोभिड–१९ को महामारीका कारण लक्ष्यअनुसार निरीक्षण कार्य गर्न नसकिएको जनाएको हो । यसले राष्ट्र बैंक निरीक्षण प्रणालीमा कमजोर देखिएको प्रस्ट पारेको छ । उक्त वर्ष ४० वटा लघुवित्त वित्तीय संस्थाहरुको समष्टिगत स्थलगत निरीक्षण गर्ने कार्ययोजना थियो । तर १४ लघुवित्त वित्तीय संस्थाहरुको समष्टिगत स्थलगत निरीक्षण मात्र गरेको हो ।
यसरी निरीक्षण गरिएका संस्थाहरुमा नक्सालको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, पुरानो बानेश्वरको छिमेक लघुवित्त वित्तीय संस्था, सुविधानगरको साना किसान लघुवित्त वित्तीय संस्था, बालुवाटारको स्वावलम्बन लघुवित्त वित्तीय संस्था, ज्ञानेश्वरको फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, महाराजगन्जको लक्ष्मी लघुवित्त वित्तीय संस्था, चुच्चेपाटीको सिभिल लघुवित्त वित्तीय संस्था, बनेपाको स्वरोजगार लघुवित्त वित्तीय संस्था, पुतलीसडकको आरएमडीसी लघुवित्त वित्तीय संस्था, पोखराको कालिका लघुवित्त वित्तीय संस्था, मोरङको जीवन विकास लघुवित्त वित्तीय संस्था, बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, इटहरीको सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सुनसरीको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्ममा सञ्चालनमा रहेका ७० लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४७ संस्था राष्ट्रियस्तर र १५ प्रदेशस्तर, १–३ जिल्लास्तर १, ४–१० जिल्लास्तर ६ र १९ जिल्ला कार्यक्षेत्र रहेको एक रहेका छन् । उक्त संस्थाहरुको केन्द्र संख्या तीन लाख ६२ हजार नौ सय ८२, समूह संख्या ११ लाख ८३ हजार तीन सय ६४ रहेको देखिन्छ भने ५१ लाख ९१ हजार तीन सय ६३ सदस्य तथा २९ लाख ९२ हजार ६८ ऋणी संख्या पुगेका छन् । ती लघुवित्त वित्तीय संस्थाहरुले देशको ७७ जिल्लामा सेवा पु-याएका छन् । लघुवित्त संस्थाहरुमा २० हजार आठ सय ७२ जना कर्मचारीहरु कार्यरत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार २०७५ असार मसान्तसम्ममा ६५ लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुकर्जा कारोबार गर्ने गैरसरकारी संस्थाहरु लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भई संख्यामा वृद्धि भएसँगै २०७६ असार मसान्तसम्ममा ९० वटा लघुवित्त वित्तीय संस्थाहरु पुगेका थिए । यस बैंकको मर्जर तथा प्राप्तिसम्बन्धी नीतिका कारण आर्थिक वर्ष २०७६/०७७ मा ११ संस्था मर्जर तथा प्राप्तिमा गएको र थप पाँच नयाँ संस्थाले वित्तीय कारोबारको स्वीकृति प्राप्त गरेकोले २०७७ असार मसान्तमा ८४ लघुवित्त वित्तीय संस्थाहरु कायम हुनपुगेको प्रतिवेदनमा भनिएको छ । साथै, आव २०७७/०७८ मा १५ संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी भएको र एक संस्थाले २०७७ श्रावणदेखि कारोबार सञ्चालन गरी २०७८ असार मसान्तमा ७० संस्था कायम भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
२०७८ असार मसान्तमा कायम रहेका कुल ७० लघुवित्त वित्तीय संस्थाहरुमध्ये थोक कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको संख्या चार र खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको संख्या ६६ छ । ती लघुवित्त वित्तीय संस्थाहरुमध्ये सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने प्रकृतिका ६८ छन् भने तोकिएका शाखाहरुमा सर्वसाधारणबाट समेत निक्षेप संकलन गर्ने संस्था भने दुई मात्र छन् ।
प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको सेवाको पहुँच तथा शाखाको अवस्था २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या तीन हजार नौ सय ४६ रहेकोमा २०७८ असार मसान्तमा १७ दशमलव ११ प्रतिशतले वृद्धि भई कुल शाखा संख्या चार हजार छ सय २१ पुगेको छ । उपर्युक्त शाखा संख्याहरुमा संस्थाको केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयहरु समावेश गरिएको छैन । संस्थाहरुले सातवटै प्रदेशहरुमा सेवा प्रदान गर्दै आइरहेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुको शाखा प्रदेश नं.१ मा सात सय ७२ (१६ दशमलव ७१ प्रतिशत), मधेश प्रदेशमा नौ सय ५७ (२० दशमलव ७१ प्रतिशत), बागमती प्रदेशमा छ सय ५४ (१४ दशमलव १५ प्रतिशत), गण्डकी प्रदेशमा पाँच सय ५१ (११ दशमलव ९२ प्रतिशत), लुम्बिनी प्रदेशमा एक हजार ७५ (२३ दशमलव २६ प्रतिशत), कर्णाली प्रदेशमा एक सय ९८ (चार दशमलव २८ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा चार सय १४ (आठ दशमलव ९६ प्रतिशत) छ ।
२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा शाखा संख्या सबैभन्दा बढी मधेश प्रदेशमा २२ दशमलव ६९ प्रतिशतले वृद्धि भएको देखिन्छ भने गण्डकी प्रदेशमा १० दशमलव दुई प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या चार हजार छ सय २१ रहेको र कुल सदस्य संख्या ५१ लाख ९१ हजार तीन सय ६३ रहेकोले लघुवित्त वित्तीय संस्थाको एउटा शाखाले औसतमा एक हजार एक सय २३ सदस्यहरुलाई सेवा दिइरहेको प्रतिवेदनमा उल्लेख छ ।