काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुण्डीमार्फत कारोबार गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । विभागले कुश्मा १, पर्वत स्थायी घर भई हाल काठमाडौं २२ सामाखुशी बस्ने गणेश पौडेलविरुद्ध आठ करोड २३ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
विभागले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो । विभागका अनुसार पौडेललाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भएको र उनले नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएको छ ।
पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको अध्ययनबाट देखिएको विभागले जनाएको छ । विभागका अनुसार पौडेलले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोहीबरावरको रकम नेपालतर्फको भुक्तानी फरफारक गरेको देखिएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाणहरूबाट पौडेलले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिई विदेशी विनिमय अपचलन गरेको विभागको दाबी छ ।
पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४ र ९ (ग) विपरित कार्य गरेकोले सोही ऐनको दफा १७(१) र दफा १९(९) बमोजिम सजायको मागदाबी लिई विभागले अभियोगपत्र दायर गरेको सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।