काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङसिथत सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको समुद्घाटन गरेको हो । १६५औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एवं माछापुच्छ बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिति रहेको थियो ।
धादिङ जिल्लामा खोलिएको नयाँ शाखासँगै यस जिल्लामा मात्रै बैंकका चारवटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ६६ शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।