काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख सङ्गीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा कार्यक्रम’ ल्याएको बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको मंगलबार राजधानीमा भएको १२औँ प्राज्ञसभा बैठकको उद्घाटन गर्दै उनले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरूको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षेत्रका विशेष प्रशिक्षण, बाल नाटक महोत्सव आदि कार्यक्रमहरूको आयोजना गर्दै जाने बताए । यसका लागि देशको सबै भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले साँस्कृतिक विविधताले समृद्ध हाम्रो मुलुकका सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालगायतका नेपालका सङ्गीत तथा नाट्य क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानले गर्दै आएका विभिन्न गतिविधिहरूबारे जानकारी गराए । कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक देउवालाई प्रज्ञा प्रतिष्ठानको लोगो अंकित प्रतीक चिह्न प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रमपछि प्राज्ञसभाको बैठक बसेको थियो ।