काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को राष्ट्रिय परिषद्को अध्यक्षमा रितेश लामिछाने चयन भएका छन् । मञ्चको १८औँ वार्षिक साधारणसभाले लामिछानेलाई परिषद्को अध्यक्षमा चयन गरेको हो । यस्तै मञ्चको प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभिता प्रधान चयन भएका छन् ।
साथै सभाले मञ्चको कार्यकारी सदस्यहरूमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार र पुनित वैद्यलाई चयन गरेको छ । मञ्चको निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ हुन् । श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार काठमाडौंको नक्सालस्थित मेरिएट होटलमा सम्पन्न साधारणसभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले गरेका थिए ।
उक्त कार्यक्रममा उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामिछानेले सन् २०२२–२३ मा सम्पूर्ण च्याप्टरहरूलगायत काठमाडौंमा बृहत् मेड इन नेपाल प्रदर्शनी गर्ने प्रतिबद्धता जनाए । साथै अन्य सदस्यहरूले युवाहरूमाझ उद्यमशीलतामा जोड दिँदै मञ्चको मूल्य मान्यताअनुसार लक्ष्य प्राप्तिमा एकताबद्ध भएर अगाडि बढ्ने उल्लेख गरेका थिए । मञ्चले महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्व कप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङजस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।