काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले मंंगलबार आफ्नो स्थापनाको १०औँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरू सञ्चालन गरेको छ । संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरूमा छात्राछात्रहरूलाई शैक्षिक सामग्री वितरण, समुदायमा डस्टबिन वितरण तथा सरसफाइलगायतका कार्यक्रमहरू आयोजना गरी १०औँ वार्षिकोत्सव मनाएको हो ।
वित्तीय संस्थाको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको ढुंखर्कमा दाँत तथा महिला स्वास्थ्य शिविर सञ्चालन गरेकोमा उक्त कार्यक्रमबाट करिब एक सय ५० जना लाभान्वित भएका छन् । यसैगरी संस्थाले विभिन्न शाखा कार्यालयहरूमार्फत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्यनरत करिब सात सय जना छात्राछात्रहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । यसै क्रममा संस्थाले रूपन्देही जिल्लाको कञ्चल गाउँपालिकामा डस्टबिन वितरण तथा सरसफाइ कार्यक्रम समेत आयोजना गरेको छ । संस्थाले स्थापना भएको १० वर्षको अवधिमा देशका ३४ जिल्लाहरूमा ७५ शाखा कार्यालयमार्फत करिब ७० हजार घरपरिवारमा लघुवित्त सेवा पु-याउन सफल भएको जानकारी दिएको छ ।