काठमाडौं । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् ।
दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरी कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने भन्दै भारतको नयाँदिल्ली बाट २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लागि बिक्री गरेका थिए । साथै पिडितलाई घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको पहलमा उनलाई कुवेतबाट उद्धार गरिएको थियो ।
साथै रेवतीले भारतमा डान्सको काममा लगाइदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पु-याई डरत्रास देखाई डान्स गर्न लगाएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माइती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो ।
यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङसम्बन्धी काममा लगाइदिने भनी मासिक ४०/५० हजार रूपैयाँसम्म कमाइ हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घरमालिकलाई पाँच हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।