काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–३ घुम्ती बस्ने नुवाकोट बिदुर नगरपालिका–७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई प्रहरीले मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिने भनी ठगी गरेको प्रहरीले जनाएको छ । मासिक एक लाख ७० हजार रूपैयाँसम्म तलब हुने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रूपैयाँ लाग्ने भन्दै उनले नौ जनासँगबाट ६३ लाख २० हजार रूपैयाँ रकम लिएर सम्पर्कविहीन भएकी थिइन् ।
रकम लिएर सम्पर्कविहीन भएको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बूढानीलकण्ठ नगरपालिका कपन निलोपुलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।