ब्याङकक । चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ ।
श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ । केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ । इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलङ्काको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ ।
गरिब देशमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ ।
विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न संघर्षरत छन्भने गरिब देशहरू ऋण सङ्कटबाट मुक्त हुनसक्नेक अवस्था छैन । अतिकमजोर अर्थतन्त्र भएका देश महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ । अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ ।
औषधिको मूल्य अकासियो, झन् बढ्दै अभाव
आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधि तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ ।
सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ ।
जीएमओए सञ्चार समितिका सदस्य डा. प्रसाद कोलाबेजले बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधि किन्न अस्पताल पुग्ने नागरिकहरूको भीड देखिन थालेको छ ।
कोलाबेजले भने, ‘पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने अधिकांश मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन् । उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइहरूको पनि सामना गरिरहेका पाइएकोे छ । औषधि दिने अस्पतालहरू सीमित भएको भन्नुपर्ने अवस्था आउनु दुर्भाग्य हो ।’
‘यसअघि अस्पतालले एक महिनादेखि बिरामीका लागि पर्याप्त मात्रामा औषधि दिने गरेको थियो । तर, यसलाई घटाएर पछि दुई सातामा मात्रै सीमित गरिएको थियो । औषधि व्यवस्थापन मामिला हेर्ने निकायले त्यसलाई पनि घटाएर एक हप्ताका लागि मात्र दिन सकिने भएको छ । अहिले यो एक हप्तासम्म सीमित छ ।’
स्थानीय सञ्चारमाध्यमका अनुसार डलरको सङ्कटसँगै देखिएको आर्थिक सङ्कटका कारण धेरै औषधि तथा मेडिकल आयातकर्ताले औषधि आयात गर्न छाडेका छन् । डलर अभाव र आर्थिक सङ्कटका कारण कतिपय आयातकर्ताले औषधि आयात गर्न पूर्णतया बन्द गरेका कारण मुलुकको चिकित्सा क्षेत्र पनि प्रभावित बनेको हो । (रासस-एपी)
श्रीलङ्काका राष्ट्रपतिद्वारा इन्धन समस्या समाधानका लागि रुसी समकक्षीसँग फोनवार्ता
कोलोम्बो, रासस/(सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रूसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।
राजपाक्षले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमूलक भएको बताउनुभयो । उक्त अवसरमा राजपाक्षले विगतका चुनौतीहरूको सामना गर्न रूसी सरकारले गरेको समर्थनका लागि नेता पुटिनप्रति आभार प्रकट गर्नुभएको छ ।
राजपाक्षले भन्नुभयो, “अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ ।”
उहाँले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलङ्कामा पुनः आरम्भ गर्न अनुरोध पनि गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।
उहाँले भन्नुभयो, “पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा साझेदारी गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रा दुई राष्ट्रहरूका लागि सबैभन्दा महत्वपूर्ण छ भन्नेमा हामी सबै सहमत छौँ ।”
इन्धन अभावको सामना गर्दै आएको श्रीलङ्काका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षलाई रूससँग कच्चा तेलका लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोनवार्ता भएको हो ।