काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी केदार गिरी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार टोखा नगरपालिका–१० सामाखुसी बस्ने उदयपुर त्रियुगा नगरपालिका–१३ चुहाडे घर भएका ६० वर्षीय गिरीलाई बिहीबार ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ६ गतेको फैसलाले सात दिन कैद र २० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताए ।
उनका अनुसार गिरीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ कात्तिक १५ गते प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।