देशै छोड्ने तयारीमा राजापाक्षे
राजीनामा दिने तयारीमा प्रधानमन्त्री
कोलम्बा । हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षे आफ्नै निवासबाट भागेका छन् । शनिबार निवासबाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको एजेन्सीहरुले जनाएका छन् । उनी कहाँ छन् भन्ने नखुलेको बीबीसीले जनाएको छ । उनी देशै छोडेर भाग्ने तयारीमा रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् । उनी कुनै पनि बेला हिँड्नसक्ने बताइएको छ ।
स्रोतहरुलाई उद्धृत गरी एजेन्सीहरुले जनाएअनुसार उनी कोलम्बो बन्दरगाहमा पुगेका छन् । त्यहाँ दुईवटा पानी जहाज तयारी अवस्थामा राखिएको बताइएको छ । त्यहाँ यात्रु ब्यागहरु लोड भइरहेको र यसैमा उनी पनि श्रीलंका छोड्ने तयारीमा रहेको बताइएको छ । यता प्रधानमन्त्री रानिल विक्रमासिंगेले भने राजीनामा दिने तयारी गरेको बताइएको छ ।
राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । यसअघि आन्दोलनकारीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यु आदेश जारी गरिएको हो । कफ्र्यु कार्यान्वयनका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।
राष्ट्रपति गोटावाया राजापाक्षेले मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् । उनले आर्थिक संकट, इन्धनको अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाइ छ । आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । उनले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने उनीहरुको
विश्वास छ ।
श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षेले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो ।
को हुन् राजापाक्षेहरु ?
श्रीलंकाको राजनीतिमा पछिल्लो समय छाइरहेका राजापाक्षेहरु महिन्दा र गोताबायले पालैपालो प्रमुख पदमा आसीन हुँदै आएका छन् । उनीहरुलाई देशको आन्तरिक युद्धमा सफलताको श्रेय दिइँदै आएको छ । कुनै बेला देशका नायकका रुपमा परिचित राजापाक्षेहरु अहिले भने खलनायक साबित भएका छन् ।
एक दशकसम्म आफ्नो पञ्जामा शासन हाँक्न पाएका उनीहरु अब भने राजनीतिबाट विमुख हुनुपर्ने अवस्था आएको छ । महिन्दा राजापाक्षेलाई तीन दशक लामो तमिल टाइगरविरुद्धको आन्तरिक युद्धमा विजय पाएको श्रेय जान्छ । सन् २००९ मा तमिल विद्रोहको अन्त्य भएको थियो । त्यतिबेला उनी पहिलो राष्ट्रपतिको पहिलो कार्यकालमा रहेका थिए । उनको बुबा पनि सांसद थिए भने महिन्दा संसदमा विपक्षी दलका नेता हुँदै सन् २००४ मा प्रधानमन्त्री बनेका थिए । एक वर्षपछि उनी राष्ट्रपति बने । त्यसलगत्तै उनले गोताबायालाई रक्षा सचिव बनाए । सैन्य जीवनबाट अवकाश लिएर अमेरिकामा बसिरहेका युवा भाइको लागि यो ठूलो राजनीतिक फड्को थियो । त्यसपछि गोताबायाको राजनीतिक उदय सुरु भएको थियो । उनीहरुका अन्य पारिवारिक सदस्यहरुले समेत सरकारमा जोडिने अवसर पाए । राजापाक्षे परिवारको राजनीतिक उदयको सबै श्रेय भने उनै महिन्दालाई जाने गर्छ ।
किन श्रीलंका आर्थिक संकटमा छ ?
श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको भण्डार रित्तिन थालेयता सडक तात्न थालेको थियो । महिनौँसम्म मानिसहरुले प्रदर्शन गरेका थिए । खासगरी विदेशी मुद्रा संकट गहिरिएपछि इन्धन संकट देखिनथालेको थियो भने खाद्यवस्तु र औषधिजस्ता वस्तु महंगिनेदेखि अभाव हुनेसम्मको अवस्था आयो ।
यही खराब अवस्थाले श्रीलंका सरकारलाई सर्वसाधारणलाई इन्धनको बिक्री आइतबारसम्म निलम्बन गर्नुपरेको थियो । यस्तो खराब अवस्था आएको सन् १९७० को दशकयता पहिलोपटक हो । गत हप्तान्तमा सरकारी अधिकारीहरुले भनेअनुसार देशमा एक हप्तालाई पुग्ने इन्धन पनि बाँकी नरहेको र अत्यावश्यक सेवाका बस, रेल र मेडिकल भ्यानहरुका लागि समेत इन्धन नरहेको अवस्था थियो ।
श्रीलंकामा विद्यालयहरु बन्द छन् भने देशका दुई करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न भनिएको छ । अभाव चुलिएपछि इन्धन र खाद्यवस्तुको मूल्य पनि आकाशिएको छ । देशमा महंगी ३० प्रतिशत पुगेको छ । ऊर्जा कटौती गरिएका छन् भने औषधिहरुको अभाव चुलिनथालेको छ । यसले समग्र स्वास्थ्य प्रणाली नै भत्किने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्रीको घरमै आगजनी
चरम आर्थिक संकटले श्रीलंकामा गम्भीर राजनीतिक संकट निम्त्याएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेका छन् भने प्रधानमन्त्री निवासमा आगजनी गरेका छन् । प्रधानमन्त्री रानिल विक्रमासिंगेको घरमा आगजनी गरेको बीबीसीले उल्लेख गरेको छ । प्रदर्शनकारीहरुले राजापाक्षे परिवारले देश डुबाएको आरोप लगाइरहेका छन् । आफ्नो शासनकालमा देशको अर्थतन्त्रको व्यवस्थापन गर्न नसकेको, चीनसँग धेरै ऋण लिएको जस्ता आरोप उनीहरुको छ ।
प्रधानमन्त्री र राष्ट्रपति दुवैको राजीनामा अनिवार्य : प्रदर्शनकारी

श्रीलंकाका प्रदर्शनकारीहरुले प्रधानमन्त्री रानिल विक्रमासिंगे र राष्ट्रपति गोताबाय राजापाक्षेले अनिवार्य राजीनामा दिनुपर्ने बताएका छन् । श्रीलंकाका राजनीतिक दलका नेताहरुले शनिबार नै बैठक बसी तुरुन्तै प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएको विपक्षी दलका सांसद हर्ष दि सिल्भाले बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले बहुमत पक्षले सभामुखले कार्यवाहक राष्ट्रपतिको रुपमा बढीमा ३० दिन संविधानअनुसार काम गर्ने सहमति भएको छ । उनीहले सबै राजनीतिक दलसम्मिलित अन्तरिम सरकार बनाएर जतिसक्दो चाँडो चुनाव गर्नुपर्ने बताएका छन् । सिल्भाका अनुसार संसदले २४ नोभेम्बरसम्मका लागि राष्ट्रपति चयन गर्नुपर्नेछ ।