काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को संयुक्त आयोजनामा हिजो (असार २३ गते) काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस १७) को कार्यान्वयन, नयाँ प्रविधि अवलम्बन र जनशक्ति विकासलगायतका विषयमा बीमा समिति र आईक्यानलगायत बीमा क्षेत्रसँग सम्वद्ध संघ संस्थाहरू आपसी सहयोग एवं सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिले आईक्यानसँग सहकार्य सुरु गरेको र यो सहकार्य निरन्तर अगाडि बढ्ने बतए ।
अध्यक्ष सिलवालले भने ‘बीमा समिति र आईक्यान मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ । जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ । लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसाबकिताब सार्वजनिक गर्नै पर्छ र कानुनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउ नै पर्छ । केही कठिनाइ भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस–१७ कार्यान्वयन गर्नै पर्छ ।’
अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, एनएफआरएस–१७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बनलगायतका विषयमा नियामक निकायहरूलगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए ।

आईक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्डबमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि एनएफआरएस–१७ को कार्यान्वयनलगायतका विषयमा समन्वय एवं सहकार्यक साथ अगाडि बढ्न आईक्यान तयार रहेको बताए । कार्यक्रममा आईक्यानका कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हाले आईक्यानका काम कारबाही र निकायमकीय भूमिका, बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिका कामकारबाही र नियामकीय भूमिका तथा आईक्यानका परिषद् सदस्य प्रवीण कुमार झाले बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीहरूसम्बन्धी छुट्टाछुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, आईक्यानका पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूलगायतको सहभागिता रहेको थियो ।