काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार २७ गते सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहजरूपमा ग्राहकसमक्ष पु-याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।
मेचीनगर नगरपालिका वडा नं. १०, झापास्थित धुलाबारी शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा बैंकका संस्थापक सेयरधनी ध्रुब कुमार उप्रेती र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरूपमा गरेका थिए । साथै, गोदावरी नगरपालिका वडा नं .२, कैलालीस्थित अत्तरिया शाखाको उद्घाटन गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट र बैंकका संस्थापक सेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले संयुक्तरूपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो । नयाँ शाखाहरूको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ ।