काठमाडौं । आधारभूत बहुउद्देश्यीय सहकारीका अध्यक्ष खड्ग बहादुर देवकोटा र प्रबन्धनिर्देशक रहेकी उनकी श्रीमती सविना वाग्ले देवकोटाले कर्जा दिँदा नै लिएको खाली चेकमा आफूखुसी रकम राखेर त्यस चेकलाई बाउन्स गरेर ऋणी अनिलकुमार रञ्जितलाई प्रहरी लगाएर पक्राउ गरेका छन् ।
भोटाहिटीमा प्रेस सञ्चालक रञ्जितले आधारभूत सहकारीबाट ५० लाख कर्जा लिएका थिए र उनले ३२ लाख रुपैयाँ बुझाइसकेको दाबी गरेका छन् । उनले आधारभूत सहकारीको कागजपत्र छापेबापत २२ लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् । हिसाबमिलान गरिदिए बाँकी बक्यौता तुरुन्त भुक्तानी गर्ने जानकारी गराउँदा आधारभूतका देवकोटा दम्पतीले छपाइको रकम अहिले दिन नसकिने, कर्जाको रकम सबै चुक्ता नगरेसम्म ५० लाख कर्जाकै दैनिक किस्ता तिर्नुपर्ने भनी ऋणी रञ्जितलाई सहकारीको कार्यालयमा लगी गुण्डाहरु लगाएर जबर्जस्ती चेकमा हस्ताक्षर गराएको र त्यही चेक बाउन्स गरेर उनलाई थुनिएको थाहा भएको छ । आधारभूतका देवकोटा दम्पतीले जनसेवा प्रहरीका इन्सपेक्टर प्रकाश रेग्मीलाई हात लिएर त्यस क्षेत्रमा मनपरी गर्दै आएका छन् ।
गत जेठ ८ गते अनिल कुमार रञ्जित अध्यक्ष रहेको सत्य शक्ति गणेश बचत तथा ऋण सहकारीका म्यानेजर रोमनाथ भण्डारीलाई कामनपा–१७ धोवीचौरमा राति सांघातिक आक्रमण गरेका थिए र ज्यान मार्ने उद्योग गरेको आरोपमा आधारभूत सहकारीका अध्यक्ष खड्ग बहादुर देवकोटा र प्रबन्धनिर्देशक सविना वाग्ले देवकोटा लामो समय प्रहरी हिरासतमा बसेर अदालतको धरौटीमा छुटेका हुन् । उनीहरु प्रहरी हिरासतमा हुँदा उनीहरुका तर्फबाट धर्मदत्त देवकोटाले रञ्जितसँग मौखिक सहमति गरेका थिए । अहिले उक्त सहमति तोडेर देवकोटा मण्डलीले रञ्जितलाई जालसाजी गरेर पक्राउ गराएको थाहा भएको छ ।
देवकोटा दम्पती पक्राउ परेपछि उनीहरुविरुद्ध शरीर बन्धक र जबर्जस्ती चेकमा सही गराएको विषयमा उजुरी दिन लागेका रञ्जितलाई उनै देवकोटाले त्यसो गर्न रोकेका थिए । देवकोटा दम्पती पक्राउ परेर सोह्रखुटेमा राख्दा अनावश्यक चासो देखाएका जनसेवाका इन्सपेक्टर रेग्मीले सोमबार पक्राउ गर्न टोली पठाएका थिए । ऋणीको धितो चेक नहुनेमा खाली चेका साइन गराएर चेक नै धितो राख्नु अर्को अपराध हो । यसमा प्रहरीले के गर्छ हेर्न बाँकी छ ।