काठमाडौं । निर्वाचन आयोगले उपत्यकाका तीन जिल्लामा अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै आयोगले अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था सुरु गरेको हो ।
आयोगले उक्त कार्य नमूना परियोजनाका रूपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा मंगलबारदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट डब्लुडब्लुडब्लु डट इलेक्सन डट जिओभी डट एनपीमा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेस गर्न सकिनेछ ।
सोपश्चात् अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।