काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेड सम्झौता भएको छ । यी दुवै बैंकहरूबीच बुधबार प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई बैंकहरूबीच यसअघि गत शुक्रबार गाभिनेसम्बन्धी सम्झौता हुने तयारी भएको थियो । तर स्वाप रेसियो, कर्मचारीहरूको समायोजन आदि विषयमा टुंगो लाग्न नसकेपछि उक्त दिन सम्झौता हुन सकेन, त्यो सम्झौताले बुधबार मूर्तरूप लियो ।
सम्झौतामा हिमालयन बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । गाभिने प्रक्रियाको लागि हिमालयन र सिभिलबीच १००ः८० को अनुपातमा सेयरको स्वाप् रेसियो कायम गर्ने सहमति भएको छ । सोअनुसार सिभिल बैंकको एक सय कित्ता सेयर हुने लगानीकर्ताहरूले हिमालयन बैंकको ८० कित्ता सेयर मात्र पाउनेछन् ।
एकीकृत कारोबार पश्चात बन्ने बैंकको नाम पनि हिमालयन नै रहने र सञ्चालक समितिमा हिमालयन बैंकको हालतको सञ्चालक समितिले नै निरन्तरता पाउनेछ । यसैगरी गाभिएपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका बर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक राणा नै रहनेछन् भने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारीको रूपमा रहनेछन् ।