अमेरिका । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्विटरले इलोन मस्कविरूद्ध कानुनी लडाइ सुरु गरेको छ । ट्विटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो ।
इलोन मस्कले ट्विटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । मस्क फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा २५औँ स्थानमा सूचीकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’मा पहिलो स्थान मा परेका थिए । उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिसेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ ।
व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्विटर कम्पनीका अध्यक्ष ब्रेट टेलरले आफ्नो दायित्वप्रति मस्क जिम्मेवार हुनुपर्ने बताएका छन् ।
ट्विटर सम्झौता भएपछि टेस्ला कम्पनीको सेयरका साथै सेयर बजारमा गिरावट आएको रिटमा आरोप लगाइएको छ । मस्कको सम्पत्ति २०२१ को नोभेम्बरमा १ सय बिलियन डलरको गिरावट आएका कारण यो सम्झौताबाट उनीपछि हट्न खोजेको जनाइएको छ ।