कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाय राजापाक्षे माल्दिभ्सबाट सिंगापुर जाने भएका छन् । बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका उनी मालेमा एक दिन पनि पूरा नबसी बुधबार राति सिंगापुर प्रस्थान गर्ने भएका हुन् ।
आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहेका राजापाक्षेलाई भाग्नका लागि श्रीलंकाको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन् ।
यसअघि उनकै अर्का भाइ तथा पूर्वअर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ । तत्कालीन राष्ट्रपति राजापाक्षेलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ । सेनाले आफूखुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।
राजापाक्षेसँगै उनकी श्रीमती र दुई अंगरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् । उनीहरु चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो ।
राजापाक्षेले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । प्रधानमन्त्री रानिल विक्रमसिंगेले बुधबार आपत्कालीन अवस्थाको घोषणा गरेका हुन् ।
सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्र्यु पनि लगाइएको छ । प्रधानमन्त्री विक्रेमेसिंगेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ ।
विक्रमासिंगेले दंगा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ । तर श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिंगेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गरेका छन् । प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उनको तर्क छ । प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेवारी पाएझैँ काम गर्नु संविधानको दुरुपयोग भएको उनले दाबी गरे । (रासस/एएनआई)