काठमाडौं । सरकारी खातामा तीन खर्ब ५१ अर्ब ९१ करोड रुपैयाँ नगद मौज्दात देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा उक्त परिमाणमा नगद मौज्दात देखिएको हो । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको महालेखाको भनाइ छ । २०७८ असार मसान्तमा भने यस्तो मौज्दात एक खर्ब ९८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
चालू आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा संघीय सरकारको कुल खर्च रकम भने १० खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा चालू खर्चतर्फ आठ खर्ब १४ अर्ब ५४ करोड, पुँजीगत खर्चतर्फ एक खर्ब ३७ अर्ब ९६ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ ८३ अर्ब १० करोड रुपैयाँ रहेको महालेखाको भनाइ छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व नौ खर्ब ४२ अर्ब १३ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको छ । यसमध्ये कर राजस्वतर्फ आठ खर्ब ७२ अर्ब ५४ करोड र गैरकर राजस्वतर्फ ६९ अर्ब ५९ करोड परिचालन भएको महालेखाले जनाएको छ ।

संघीय सरकारले चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा ट्रेजरी बिलमार्फत ८५ अर्ब, विकास ऋणपत्रमार्फत ८९ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत ९७ करोड परिचालन गरी जम्मा एक खर्ब ७५ अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब ६४ अर्ब १५ करोड छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी एक खर्ब २५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३८ अर्ब ६५ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च एक खर्ब १२ अर्ब २७ करोड रुपैयाँ रहेको महालेखाले जानकारी दिएको छ ।