काठमाडौं । राम्रो तलबमा दुबई पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ धुनिबेसी गाउँपालिका —९ घर भई हाल काठमाडौं महानगरपालिका— ७ चाबहिल बस्ने २७ वर्षीय विकास थापा रहेका छन् । थापाले दुबई जानको लागि ६ लाख लाग्छ, त्यहाँ पुगेपछि बाउन्सर र सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक तलब एक लाखभन्दा बढी हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी दुई जनाबाट ११ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । पैसा लिई सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन उपत्यका अपराध अनुुसन्धान कार्यालयमा पत्राचार गरिएको थियो । त्यसलगत्तै अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका—३ बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो । बुधबार पक्राउ परेका थापालाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ  ।