काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलबीच भएको अनलाइन भुक्तानी सम्झौताबमोजिम ब्रिटिस काउन्सिलले लिने आईईएलटीएस परीक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अबदेखि आईईएलटीएस परीक्षा दिने परीक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् । साथै नजिकै रहेका इसेवाको एजेन्ट नेटवर्कमार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ । इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि दुर्गम विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रदान गर्दै आफूलाई विश्वसनीय विद्युतीय भुक्तानी प्रदायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । उक्त भुक्तानीमा आकर्षक क्यासब्याक समेत प्रदान गर्दै आएको छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।
यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।