काठमाडौं, फागुन ११
सार्वजनिक लेखा समितिले कमिसन मागेको सूचना दिनेविरुद्ध नै कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ । समितिले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको सूचना दिने विजयप्रकाश मिश्रलाई कारबाही गर्न व्युरोलाई निर्देशन दिएको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका स्थानीय एजेन्ट मिश्रसँग बास्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेका थिए । मिश्रसँग बाँस्कोटाले कमिसन मागेको टेप रेकर्ड गत बुधबार राति सार्वजनिक भएको थियो । बाँस्कोटाले कमिसन मागेको टेप रेकर्ड मिश्रले नै सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । उक्त टेप रेकर्ड सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले गत बिहीबार नै पदबाट राजीनामा दिइसकेका छन् । साथै बिहीबार नै बसेको सार्वजानिक लेखा समितिको बैठकले भने सांसदहरुको चरित्रहत्या गर्ने प्रयास भएको भन्दै विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ ।
मिश्रलाई लेखा समितिले विज्ञको रुपमा बैठकमा समेत बोलाउँदै आएको थियो । लेखा समितिले आफैँले विज्ञ भनेर नियुक्त गरेको मिश्रलाई कारबाही गर्नको लागि साइबर क्राइम ब्युरो, काठमाडौंलाई पत्र लेखेको हो । समितिले मिश्रसँगै सामाजिक सञ्जालमा सांसदहरुलाई गाली गर्ने प्रभात किशोर उपाध्यायलाई पनि कारबाही गर्न निर्देशन दिएको हो ।
लेखा समितिले ब्युरोलाई लेखेको पत्रमा भनिएको छ, ‘समितिमा छलफलका क्रममा रहेको विषय सुरक्षण मुद्रण स्थापनासम्बन्धी विचाराधीन रहेको विषयसँग जोडी प्रभात किशोर उपाध्याय र विजय प्रकाश मिश्रले सदस्यहरुको अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा राखी भ्रमात्मक समाचार फैलाएको तथा सांसदहरुको चरित्र हत्या गर्ने प्रयास गरेकोले निजहरूलाई साइबर क्राइम गरेको सम्बन्धमा कानुनबमोजिम कारबाही गरी सोको प्रतिवेदन यथाशक्य यस समितिमा पेश गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’
समितिले उपाध्यायले फेसबुकमा जथाभावी पोष्ट गरेको र मिश्रले सञ्चारमाध्यममा समितिमा रहेको सांसदहरुविरुद्ध चरित्रहत्या गर्ने गरी टीकाटिप्पणी गरेको बताएको छ ।