काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले हालै क्यानडाबाट फर्किएका विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेपछि उनीसँगै निकट सम्बन्ध राखेर कारोबार सञ्चालन गर्दै आएका कान्छो सीईओ रमेश घिमिरेलाई समेत तनाव बढेको थाहा भएको छ ।
अर्थमन्त्री हुँदा जनार्दन शर्माले नियुक्त गरेको पछिल्लो सीईओ घिमिरे क्रिप्टो कारोबारी श्रेष्ठको निकटको कारोबारी भएको बुझिएको छ । घिमिरे गत असार १६ गते निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
क्यानडामा यौन हिंंसाको काण्डमा परेर उनका साथी श्रेष्ठ झण्डै १० करोड रुपैयाँ जरिवाना तिरेर नेपाल फर्किएको केही दिनमै नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबारमा पक्राउ परेपछि कान्छो सीईओ रमेश घिमिरेलाई तनाव भएको हो ।
तीन वर्षअघि विशाल सिमेन्टको सेयर बेचेर श्रेष्ठ क्यानडा गएका थिए ।
उनलाई प्रहरीले गत बुधबार पक्राउ गरेको हो र उनले आफूले परिवार, आफन्त र साथीभाइको नाउँमा ठूलो मात्रामा क्रिप्टोकरेन्सीको कारोबार गरेको कुरा स्वीकार गरेका छन् । उनी बहुचर्चित ३३ किलो सुन काण्डमा पनि मुछिएका थिए । उनी पक्राउ परेसँगै केही पूर्वप्रहरी अधिकारीहरु पनि तानिन सक्ने सम्भावना छ ।