सुबास बस्नेत
दोलखा, फागुन ११
लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको काठमाडौँदेखि दोलखा जोड्ने मुख्य सडक ठेकेदार कम्पनीको लापरबाहीको कारण पाँच वर्षदेखि अलपत्र भएको छ । लामोसाँघु जिरी सडकअन्तर्गतको मुडेदेखि चरीकोटसम्मको ३० किलोमिटर सडकको कालोपत्रेसहितको सडक स्तरोन्नति गर्न एक्जिम बैंकको आर्थिक सहयोगमा ठेक्का सम्झौता गरेको करिब पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले सडक निर्माणमा चासो नदिँदा यात्रु दैनिक सास्ती खेप्नुपरेको छ ।
भारतिय एक्जिम बैंकको झण्डै एक अर्ब २४ करोड ऋण लगानी निर्माण हुनलागेको लामोसाँघु जिरी सडक खण्डको खाँडीचौरदेखि चरीकोटसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको थियो । उक्त सडकको निर्माण दुई वर्षभित्र सक्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि सडक निर्माणको कामले गति लिनसकेको छैन । लामोसाँघु मुडे सडकखण्डअन्तर्गत चेनेज शून्य किमिदेखि २५ किमि लामोसाँघु मूडे सडकखण्डको काम सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीलाई जिम्मा दिएको थियो भने चेनेज २५ किमिदेखि ५५ किमिसम्म मुडे–चरीकोट सडकखण्डको काम शकिल हेदर, शंकरमाली, सुनौला खिम्ति जेभीलाई दिइएको थियो । सडक निर्माणको काम सकाउन जिल्लाका स्थानीयवासी, नागरिक समाजका अगुवा, पत्रकार र व्यवसायीहरुले निरन्तर दबाबमूलक कार्यक्रम गरिरहे पनि सडकको कामले गति लिनसकेको छैन ।