कञ्चनपुर, फागुन ११
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटकीय प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा शुक्रबारदेखि फागुन १९ गतेसम्म तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच कञ्चनपुर क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेश सांसद मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गरे । कार्यक्रममा प्रदेश सांसद मान बहादुर सुनारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको स्तरसम्म पु-याउन आफूले सक्दो प्रयास पहल कदम चाल्ने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित मेलामा करिब पाँच हजार पर्यटकले अवलोकन गर्ने र करिब साढे सात करोडको कारोबार गर्ने अनुमान गरेको छ ।
मेलामा भीमदत्त नगरपालिकाले पाँच लाख र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई लाख ५० हजार लगानी गर्ने बताएको छ । यस्तै मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूल गेटमा रहेको चोकमा बाह्रसिङ्गेको मूर्ति अनावरण गर्दै उक्त चोकको नाम बाह्रसिङ्गे चोक नामकरण समेत गरिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय क्षेत्रका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सहयोग पु-याउनुका साथै भिजिट वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले महोत्सवको तेस्रो संकरणको शुक्लाफाँटा महोत्सव आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले यस वर्ष अन्य वर्षभन्दा पृथक् ढंगले महोत्सव आयोजना गरिएको बताए । यस वर्ष पाँच हजार पर्यटकलाई शुक्लाफाँटा निकुञ्ज घुमाउने लक्ष्य राखेको आयोजकले बताएको छ ।