काठमाडौं । प्रहरीले नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी तथा कीर्ते गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने मकवानपुर थाहा नगरपालिका–६ घर भएका २१ वर्षीय पत्रकार वाशुदेव अर्याल रहेका छन् ।
अर्यालले काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित सीतापाइला बस्ने प्युठान, प्युठान नगरपालिका–४ घर भएका प्रकाश राज भण्डारीको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाउँको नक्कली छाप र प्रकाश राजको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंक लिमिटेडको खाताबाट पैसा निकाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । अर्यालले उक्त कम्पनीको खातामा रहेको पैसा निकालिरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले घटनामा संलग्न अर्याललाई विभिन्न दशी प्रमाणसहित शुक्रबार काठमाडौं कलंकीस्थित नेपाल एसबीआई बैंक लिमिटेडबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अर्यालले भण्डारीको दस्तखत सहितको चेक फेला पारी नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएका थिए । सोही प्रयोग गरी उनले नेपाल एसबीआई बैंक लि.बाट चेकबुक हराएको भनी थप चेकबुक निकालेको पाइएको छ । साथै उनले सौरभ डंगोलको सवारीचालक अनुमतिपत्र फेला पारी सोही नाम र सोही सवारीचालक अनुमतिपत्रको प्रयोग गरी रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अर्यालले हालसम्म १० लाख ३५ हजार रूपैयाँ रकम निकालेको भेटिएको हो । उनीसँग ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको पत्रकारको परिचयपत्र समेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अर्यालसँगबाट अर्यालको नाउँको सवारीचालक अनुमतिपत्र तथा पत्रकार परिचयपत्र, सरोज डंगोलको नाउँको सवारीचालक अनुमतिपत्र, डंगोलको नाममा काटिएको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाउँमा खाता रहेको नेपाल एसबीआई बैंक लिमिटेडको नगद ६५ हजार र २० हजार रूपैयाँको दस्तखतसहितको चेक एक/एक थान, विभिन्न कम्पनी तथा संस्थाको छापहरू आठ थान, नक्कली दस्तखत अभ्यास गरिएको डायरी (नोट बुक) आठ थान, सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको थियो । उनीउपर लिखतसम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।