काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गरी नेपाल र नाइजेरिया दुवै मुलुकबीच पर्यटन क्षेत्रको साझेदारी गर्न तयारी अगाडि बढाउन आग्रह गरेका छन् ।
मन्त्रालयमा आइतबार भएको भेटमा उनीहरूबीच संस्कृतिलाई पर्यटन समृद्धिको मुख्य आधारको रुपमा लिएका नेपाल र नाइजेरिया दुवै मुलुकबीच पर्यटन क्षेत्रको साझेदारी गर्नेबारे छलफल भएको थियो । पर्यटन क्षेत्रमा हुने साझेदारीले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने राजदूत सुलेले बताए । मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको बताए ।
कोभिड महामारीको असर कम भएपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनको योजना अघि बढाइएको उनले बताए । प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा उस्तै रहेका नेपाल र नाइजेरियाबीच अनुभव आदानप्रदानबाट एकआपसमा लाभ लिन सकिने मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले नेपालमा रहेर नाइजेरियन खेलाडीहरुले फुटबल खेल्ने गरेको बताउँदै खेलकुदले पनि दुई देशको सम्बन्ध विकासका साथै पर्यटन विकासका सहयोग गरेको बताए । भेटमा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी थिए । भारतको नयाँदिल्लीमा आवासीय राजदूतका रुपमा रहेका सुले नेपालसहित बंगलादेश र श्रीलंकाका लागि गैरआवासीय राजदूत हुन् ।