काठमाडौ फागुन ११
लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको काठमाडौँदेखि दोलखा जोड्ने मुख्य सडक ठेकेदार कम्पनीको लापरबाहीको कारण पाँच वर्षदेखि अलपत्र भएपछि आन्दोलनमा उत्रेका दोलखाका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आईतबार तालाबन्दी गर्न गएको नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चिरन्जीबी मास्के, रमेश खतिवडा, गोर्कण प्रसाद भण्डारी,सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेत लगायतका नागरिक समाजका अगुवाहरुलाई पक्राउ गरेको हो । भारतिय एक्जिम बैंकको झण्डै एक अर्ब २४ करोड ऋण लगानी निर्माण हुनलागेको लामोसाँघु जिरी सडक खण्डको खाँडीचौरदेखि चरीकोटसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको थियो । उक्त सडकको निर्माण दुई वर्षभित्र सक्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि सडक निर्माणको कामले गति लिनसकेको छैन । लामोसाँघु मुडे सडकखण्डअन्तर्गत चेनेज शून्य किमिदेखि २५ किमि लामोसाँघु मूडे सडकखण्डको काम सीमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीलाई जिम्मा दिएको थियो भने चेनेज २५ किमिदेखि ५५ किमिसम्म मुडे–चरीकोट सडकखण्डको काम शकिल हेदर, शंकरमाली, सुनौला खिम्ति जेभीलाई दिइएको थियो । सडक निर्माणको काम सकाउन जिल्लाका स्थानीयवासी, नागरिक समाजका अगुवा, पत्रकार र व्यवसायीहरुले निरन्तर दबाबमूलक कार्यक्रम गरिरहे पनि सडकको कामले गति लिनसकेको छैन ।