काठमाडौं । हिमालयन बैंकका लगानीकर्ताहरुमाथि राणा र श्रेष्ठ समूहले विभिन्न बहानामा दोहन गरेको देखिएको छ । यसअघि भागबण्डा नमिलेकै कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया भाँडिएको थियो । उक्त मर्जर प्रक्रिया भाँडिनुमा पनि सबैभन्दा ठूलो हात हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयर लगानीकर्ताको रुपमा रहेको श्रेष्ठ समूह अर्थात् प्रचण्ड बहादुर श्रेष्ठकै रहेको थियो ।
तत्कालीन समयमा भागबण्डा नमिलेकै कारण नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रिया भाँडेको यो समूहले अहिले भने सबै कुरा अर्थात् भागबण्डा मिलाएर नै सबैभन्दा कान्छो तथा कमजोरमध्येको एक बैंक सिभिल बैंकलाई मर्ज गर्ने प्रक्रिया सुरु गरेको छ । सिभिल बैंकका ठूला लगानीकर्तामध्येका एक जो लामो समयसम्म बैंक सञ्चालक समितिका अध्यक्ष रहेका थिए उनी अर्थात् इच्छाराज तामाङ अहिले बैंकिङ कसुरको अभियोगमा जेलमा रहेका छन् । सोही कारण अहिले बैंकको नेतृत्व प्रतापजंग पाण्डेले सम्हालेका छन् । अहिले उनै पाण्डे समेतको सहमतिमा सिभिल बैंकलाई मर्जरको नाउँमा हिमालयन बैंकमा टाँसो लगाउने काम भएको छ ।
मर्जरसम्बन्धी सम्झौतामा हिमालयन बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले नै हस्ताक्षर गरेका थिए । गाभिने प्रक्रियाको लागि हिमालयन र सिभिलबीच १००ः८१ को अनुपातमा सेयरको स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । सो अनुसार सिभिल बैंकको एक सय कित्ता सेयर हुने लगानीकर्ताहरुले हिमालयन बैंकको ८० कित्ता सेयर मात्र पाउनेछन् । एकीकृत कारोबारपश्चात् बन्ने बैंकको नाम पनि हिमालयन नै रहने र सञ्चालक समितिमा हिमालयन बैंकको हालको सञ्चालक समितिले नै निरन्तरता पाउने छ । यसैगरी गाभिएपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक राणा नै रहनेछन् भने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारीको रुपमा रहने सहमति भएको छ ।
तर यो सहमति प्रत्यक्षरुपमा हिमालयन बैंकका श्रेष्ठ र राणा परिवारलाई फाइदा हुने गरी गरिएको बुझिएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको लागि प्रक्रिया अगाडि बढ्दा १ः१ को अनुपातमा सेयर हुने गरी स्वाप रेसियो कायम गर्न प्रयास गरिएको थियो । तर पछिल्लो समय हिमालयन बैंकको ठूलो संस्थागत लगानीकर्तामध्येको एक कर्मचारी सञ्चयकोषले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रियामा ७८ प्रतिशतभन्दा बढी जान नसक्ने जिकिर गरेका थिए । कर्मचारी सञ्चकोषको प्रतिनिधिकोरुपमा रहेको जितेन्द्र धिताल त्यतिबेला मर्जरसम्बन्धी संयोजक रहेका थिए । यसरी सेयरमा कुरा नमिलेपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया भाँडियो ।
अहिले हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर प्रक्रियामा पनि सेयरको अनुपात कायम गर्ने विषयमा निकै चलखेल भएको बुझिएको छ । यो चलखेल उक्त बैंकको ठूला लगानीकर्ताहरु राणा र श्रेष्ठ समूहकै कारण भएको बुझिएको छ । मर्जरको लागि अहिले सिभिल बैंकको डीडीए रिपोर्ट मदनराज शर्माको शर्मा एण्ड कम्पनीबाट बनाइयो । शर्मा अहिले अमेरिका बस्दै आएका छन् । त्यो डीडीए रिपोर्ट कसरी बन्यो, त्यो आफैँ रहस्यमय छ । उक्त रिपोर्टले मर्जरको लागि सिभिल बैंकको ७४ प्रतिशतभन्दा बढी जान नमिल्ने देखायो । तर अहिले मर्जरको लागि सम्झौता गर्दा श्रेष्ठ र राणा परिवारको फाइदाकै लागि सिभिल बैंकको सय कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता अर्थात् १००ः८१ को अनुपात कायम गरिएको छ । यो अनुपात भने डीडीए रिपोर्टमा उल्लेख गरिएभन्दा सात प्रतिशत बढी हो ।
हिजोका दिनमा इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा ७८ प्रतिशत कायम गर्दा सेयर मिलान हुन नसकेको र कम मूल्यमा सेयर मिलान हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आकर्षित हुनसक्ने भन्दै मर्जरबाट हात झिकेको हिमालयनले अहिले भने डीडीए रिपोर्टभन्दा निकै माथि गएर मर्जर सम्झौता गरेको छ । यो मर्जरको प्रत्यक्ष फाइदा श्रेष्ठ र राणा समूहलाई भएको छ । यसरी वास्तविक मूल्यभन्दा बढी मूल्य देखाएर सिभिल बैंकलाई गाभ्दा हिमालयन बैंकका अन्य सेयरधनीहरु निकै मारमा परेको बुझिएको छ ।
अहिले पनि मर्जर समितिको संयोजकको रुपमा कर्मचारी सञ्चयकोषका तर्फबाट जितेन्द्र धिताल नै रहेका छन् । यसअघि उनी नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियामा पनि संयोजक नै थिए । अहिले पनि उनै संयोजक धितालकै रोहबरमा हिमालयन र सिभिल बैंकको मर्जर प्रक्रिया अगाडि बढेको छ । तर यो मर्जरमा सेयरको स्वाप रेसियो कायम गर्ने कुरामा निकै ठूलो चलखेल भएको र यो चलखेलबाट राणा र श्रेष्ठ परिवार एवं अन्य केही मुठीभरका व्यक्तिहरुलाई फाइदा पुगे पनि हिमालयन बैंकमा आम सेयरधनधीहरु भने चरम मारमा परेको बुझिएको छ । हिमालयन बैंकको संस्थागत लगानीकर्ताहरुमा कर्मचारी सञ्चकोष, छायाँ इन्टरनेशनल र एन ट्रेडिङ कम्पनी रहेको छ । उक्त बैंकमा यी कम्पनीहरुको सेयर स्वामित्व क्रमशः १४ दशमलव ८५ प्रतिशत, आठ दशमलव ८९ प्रतिशत र १२ दशमलव ७१ प्रतिशत रहेको छ ।