काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी समस्या अन्त्य गर्ने दाबी गरेकी छिन् । वर्षौँदेखि भूमिसम्बन्धी समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेकाले उक्त प्रवृत्तिको अन्य गर्ने उनको भनाइ थियो ।
धनकुटा जिल्लाअन्तर्गत साँगुरीगढि गाउँपालिका–५ (साबिक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुर्जा वितरण गर्ने कार्यक्रमका उनले गैरसुकुमबासीलाई भूमि उपलब्ध नगराउनेतर्फ सरकार सचेत रहेको समेत उल्लेख गरिन् । उनले आयोगका पदाधिकारीहरूलाई कुनै प्रभाव र दबाबविना काम गर्न निर्देशन दिइन् । मन्त्री श्रेष्ठले २०२१ सालमा भूमि सुधार कार्यक्रमअन्तर्गत जग्गाको हदबन्दी लागू भएपछि जग्गा नापजाँचको थालनी भएको बताइन् ।
‘२०२१ सालमा भूमि सुधार कार्यक्रमअन्तर्गत जग्गाको हदबन्दी लागू भएपछि त्यसबेलाको सीमित स्रोत, साधन र जनशक्तिका कारण सबै ठाउँमा जग्गा नापजाँच गर्ने स्थिति बनेन र त्यसलाई साना साना कित्ताहरूलाई एकै ठाउँमा राखेर ब्लकको रूपमा छुट्ट्याइएको थियो’, उनले भनिन्, ‘पछि जग्गा नाप्ने क्रममा घनकुटामा २०२९ साल माघ १५ गतेबाट सुरु भयो ।’ धनकुटामा जग्गाको एकसरो नापी २०३२ सालमा छुट्ट्याइएको उनले बताइन् । धनकुटामा २०७७ सालदेखि पुनः नापजाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सकिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
मन्त्री श्रेष्ठका अनुसार जग्गाको नाँपजाच कार्य लक्ष्य निर्धारण गरेर हुने गरेको भए पनि पुर्जा वितरण गर्ने कार्य प्राथमिकतामा पर्नेगरेको थिएन । उनले आफू मन्त्री भएर आएपछि भूमिको नापी र लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् । कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका भूमिहीन दलितहरूलाई पहिलो पटक पुर्जा वितरण गरेर भूमि आयोगको कार्य सुरु गरेको समेत स्मरण गरिन् । आफू मन्त्री भएपछि करिब ४९ हजार लालपुर्जा वितरण गरेको उनले जानकारी समेत दिइन् । गाउँब्लको सम्पूर्ण नापी सकेर यही वर्षभित्र पुर्जा वितरण सक्ने कार्यमा मन्त्रालय लागेको उनको भनाइ थियो । यस्तै उनले भूमिहीन दलितहरूको समस्या पनि छिट्टै निराकरण गरिने जानकारी दिइन् ।
धनुकटा जिल्लामा साबिक डाँडाबजार गाविस वडा नं ३ र ९ हाल साँगुरीगढी गाउँपालिका वडा नं ५ को २८ र चैबीसे गाउँपालिका जम्मा ५५ जग्गाधनी प्रमाणपुर्जा तयार गरी करिब दुई हेक्टर क्षेत्रफल रहेको गाउँब्लक क्षेत्रको नाप नक्सा कार्य सम्पन्न भएको छ । जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्न बाँकी रहेको जग्गाहरूको छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।