काठमाडौं । गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारमा गएका र प्राकृतिक रुपमा ज्यान गुमाउनुपरेका श्रमिकको परिवारले पाउने बीमा रकमलाई कम्तीमा ५० लाख पाउने व्यवस्था गर्न माग गरेको छ । संघको पदाधिकारीको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई भेटी उक्त माग गरेको हो ।
हाल वैदेशिक रोजगारमा गएका र प्राकृतिक रुपमा ज्यान गुमाउनुपरेका श्रमिकको परिवारले २० लाख रुपैयाँ पाइरहेका छन् । यस्तै प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्बको लगानीबारे पनि मन्त्रीलाई जानकारी गराएका थिए । संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसीलगायतका पदाधिकारीहरुले मन्त्री कुँवरलाई संघले नेपाल सरकार र सरोकारवालाहरुको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भइरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरुबारे ध्यानाकर्षण समेत गराएका थिए । साथै संघले कोभिड–१९ बेला श्रमिकहरुलाई गरेका उद्धार तथा राहत कार्यक्रमहरुबारे समेत जानकारी गराएको थियो । यस्तै प्रतिनिधिमण्डलले थाइल्याण्डमा आयोजना हुनलागेको नवौँ एसिया क्षेत्र भेलामा सहभागी हुन आग्रह समेत गरेको जनाएको छ ।
भेटमा मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिबद्ध रहेको जानकारी गराएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा संघले वैदेशिक रोजगारीको क्षेत्रमा मिलेर काम गर्नसक्ने उनको भनाइ थियो । संघले वैदेशिक रोजगारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेमा पूर्ण समय दिने समेत उनले प्रतिबद्धता जनाएका थिए ।
साथै सोही भेटमा सामाजिक सुरक्षा कोषसँग भएका कामलाई संस्थागत गर्न संघ र सामाजिक सुरक्षा कोषबीच सम्झौता गर्ने निर्णय पनि भएको छ । भेटघाटमा संघका तर्फबाट उपाध्यक्षद्वय आरके शर्मा र नरेन्द्र भाट, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्ले तथा सचिवालयका अधिकृत कुनाल मिश्राको सहभागिता रहेको थियो ।